दी राइजिङ गोर्खाजलाई नवाज कपको उपाधि


Date:2017-08-07
पश्चिम सिड्नी अवस्थित लिडकमको वाईट पार्कमा ६ अगष्ट आईतवार भएको नवाज कप फुटबल प्रतियोगिताको फाइनलमा फेवा क्लबलाई पराजित गर्दै दी राइजिङ गोर्खाज क्लबले उपाधि जितेको छ । प्रतिस्पर्धात्मक भिडन्तमा फेवा फुटबल क्लबलाई १–० को अन्तरले हराँंउदै राइट एन्ड एशोसियट्स राइजिङ गोर्खाजले प्रतियोगिताको उपाधि चुमेको हो । जितका लागि निर्णायक गोल इनोज न्यौपानेले मध्यान्तर अगाडि गरेका थिए । स्ट्राइकर पारसले फेवाको डी बक्ससम्म लगेको बल फेवाका रक्षापंक्तीका खेलाडीले क्लीयर गर्न नसक्दा इनोजले सजिलै बललाई जाली चुमाएका थिए । 
 
मध्यान्तर अगाडि गोल गर्ने आधा दर्जन अवसर पाएको दी राइजिङ गोर्खाजेले दोस्रो हाफमा भने फेवाको दबाब झेल्नु परयो । फस्ट हाफमा दुइ वटा प्रहार पोष्टमा ठोक्कीनु र केहि राम्रा मौका सदुपयोग हुन नसक्दा राइजिङले उपाधिको लागि मिहिनेत गर्नु परेको थियो । आफ्ना तिन नियमित खेलाडी बिनानै मैदानमा उत्रेको राइजिङले सुमिन भट्टराइको कप्तानीमा उत्कृष्ट खेल खेलेपनि फेवाका गोलरक्षक गोकुल छन्त्याल उनिहरुका लागि भिलेन साबित भएका थिए । पहिलो हाफमा करिब तिन वटा राम्रा प्रहार बिफल लुल्याएपछि राइजिङलाई दबाब बढेको थियो । दोस्रो हाफमा घाइते स्ट्राइकर सुनिल भण्डारी मैदानमा उत्रेपनि राइजिङले जितको अन्तर बढाउन सकेन । 
 
प्रतियोगिताका म्यान अफ दी सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ, म्यान अफ दी म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराइ, बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए । सेन्ट जोर्ज फ्रेन्ड्स सिम्रीक क्लबका आषिश श्रेष्ठ १० गोल गरेर सर्वाधिक गोलकर्ता बने । 
 
भेट्रानतर्फको उपाधि भने सेन्ट जोर्ज नेप्लीज क्लबले जितेको छ । उसले टाइब्रेकरमा प्रतिस्पर्धी हिमालयन युथ क्लबलाई सडेन डेथमा हराएको थियो । सडेन डेथमा भेट्रान फुटबलर राजु मानन्धरले सेन्ट जोर्जका लागि निर्णायक पेनाल्टी गोल गरेका थिए । 
 
प्रतियोगिताका विजेताहरुलाई अस्ट्रेलियन नेप्लीज वेलफेयरका अध्यक्ष बिनोद शर्मा, पर्यटनदुत बद्री अर्याल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, सामाजिक अभियन्ता नारायण प्रधान, लगायतले विजेता खेलाडी तथा टिमलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको  थियो । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड र प्रमाणपत्र सहित १५०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ८०० र तेस्रो स्थान ल्याउने टीमलाई ५०० डलर पाउन सफल भए । त्यस्तै म्यान अफ द रिरिज विजेतालाई ३०० डलर र  म्यान अफ द फाइनल विजेतालाई १०० डलर पुरस्कार प्रदान गरियो  । 
 
प्रतियोगितामा अस्ट्रेलियामा रहेका १७ वटा फुटबल क्लबले सहभािगता जनाएको कुरा अध्यक्ष बिनोद शर्माले बताए । फाइनल खेलको समापनमा  वालवालिकाहरुको लागि जम्पिङ कास्टल, किड्स रेसिङ, किड्स पेलान्टी सुट आउट लगायत खेलहरु समेत समावेश गरिएको थियो । 
 
१९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी  सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको कृष्ण तिवारीले बताए ।