सिड्नीमा राष्ट्रिय खेलाडिहरु सम्मानित


Date:2017-04-04
नेपाली भिजन । गैर आवसीय नेपाली संघ अष्ट्रेलियाले २ अप्रिल आईतबार साँझ खेलाडीहरुको सम्मानका लागि सम्मान साँझ कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय फूटवल टिमका खेलाडि तथा क्याप्टेन अनिल गुरुङ, राष्ट्रिय फूटवल टिमका खेलाडि नवयूग श्रेष्ठका साथमा राष्ट्रिय भलिबल टिमका क्याप्टेन भरत शाह यस कार्यक्रममा बिशेष सहभागिता जनाउन नेपाल देखि सिड्नी आएका थिए । 
 
एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको फूटवल, भलिवल, बास्केटवल र क्रिकेट खेलमा बिजयी खेलाडी तथा समुहहरुलाई सम्मान गर्नुका साथै नेपाल चिनाउने खेलाडीहरु क्रमश तीन पटक युथ १९ विश्वकप खेलिसकेका यशवन्त सुबेदी, प्रेम चौधरी, टी ट्वान्टी विश्वकप खेलेका नेपालका बायाँ हाते फास्ट बलर अमृत भट्टराई, सागमा उसु मार्फत स्वर्ण पदक विजेता विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा, अस्ट्रेलियामा स्थाई बस्तै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडिबील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ, सन्जिव चौधरी तथा जुडोका मोहम बम लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।  
 
पहिलो पल्ट एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको यस कार्यक्रमले खेलाडीको मनोवल बढाउँदै खेलको स्तरमा सकारात्मक पहल गर्ने बिश्वासका साथ कार्यक्रम आयोजना गरीएको आयोजकले बताए । नेपाली कार्यवहाक राजदूत राजेन्द्र पाण्डे, एनआरएन एनसीसी तथा आईसीसीका पदाधिकारीहरु, लगायत कार्यक्रम संयोजक नन्द गुरुङले खेलाडिहरुलाई सम्मान गरेका थिए । रकडेलमा भएको यस कार्यक्रममा डलर ६० प्रवेश शुल्क राखिएको थियो ।