"गौतम बुद्धको शहर" हङकङमा विमोचित


Date:2017-03-30
नेपाली भिजन । २६ मार्च, हङकङ– युवा साहित्यकार राजेश्वर घिमिरेको लघु उपन्यास "गौतम बुद्धको शहर" जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा विमोचित भएको छ । 
 
हङकङमा नेपाली भाषा र साहित्यको संरक्षण तथा सम्बर्दनमा लागि पर्दै आइरहेको हङकङ साहित्यिक साझा श्रृंखलाले आयोजनामा श्रृंखलाका संयोजक लालबहादुर गुरुङको अध्यक्षतमा सृजना वाचन तथा समीक्षासंगै ५९ औं साहित्य श्रृंखलाको समापनसंगै दोस्रो चरणको कार्यक्रममा पुस्तक विमोचन गरिएको थियो । 
 
श्रृंखलाका संयोजक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विमोचन कार्यक्रमको प्रमुख अतिथि साब्लाबुङका सम्पादक एवं प्रकाशक तथा नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राज कुमार राई रहेका थिए । त्यस्तै गरि नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, बाल पत्रिका पिङ्गका प्रधान सम्पादक रविन राई, साहित्यकार कमल पौड्याल, नेपाली महिला संघकी अध्यक्ष टिका गुरुङ लगायतका व्यक्तिहरुलाई विशेष अतिथि तथा अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो ।
 
श्रृंखलाका सदस्य कवयित्री सुनिता गिरीको श्वागत मन्तब्यसंगै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा अतिथिहरुद्धारा विमोचन गरिएको पुस्तकका बारेमा साहित्यकार बज्र कुमार राईले  समीक्षा गरेका थिए । 
 
साहित्यकार तथा किरात याक्थुम चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, समीक्षक समाजका संयोजक हेम कुमार लावती, महिला संघकी अध्यक्ष टिका गुरुङ, प्रमुख अतिथि राज कुमार राई लगायतद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा उपन्यासकार घिमिरेले आयोजक साहित्य श्रृंखला लगायत हङकङबासी सबै प्रति आभार प्रकट गरेका थिए । शुभकामना मन्तब्य राख्ने क्रममै कार्यक्रमका अध्यक्ष लालबहादुर गुरुङले “गौतम बुद्धको शहर” मार्फत अष्ट्रेलिया र हङकङबासी साहित्यकारहरु बीचको सम्बन्ध नजिक हुन पुगेको बताउँदै साहित्यकार घिमिरेको लेखन यात्रालाई शुभकामना दिएका थिए । 
     
नेपालमा विमोचन गरिसकिएको “गौतम बुद्धको शहर“ विमोचन कार्यक्रममा संकलन भएको रकम जन प्रभात मा विद्यालयलाई प्रदान गरिसकेको र हङकङमा संकलित रकम समेत सामाजिक कार्य लाई प्रदान  गर्ने योजना रहेको जानकारी कार्यक्रम संचालिका श्रृंखलाकी सह–संयोजक पूर्णिमा शाहले गराएकी थिइन । 
   
यस अघि नै “प्रत्यावर्तन” र “तेश्रो आँखा” पुस्तक प्रकाशन गरिसकेका घिमिरेले तेस्रो कृतिको रुपमा पाठकहरु माझमा ल्याएका माटो ,मित्रता र प्रेममा आधारित लघु उपन्यास “गौतम बुद्धको शहर” १७५ पृष्ठको रहेको छ ।