G-5 माछापुच्छ्रे उपाधि दी राइजीङ गोर्खाजलाई


Date:2016-11-23
जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि दी राइजीङ गोर्खाज क्लब सीड्नीले हात पारेको छ । फाइनलमा पुगेको डार्बिन हर्टसलाई ४–० गोलले पराजित गर्दै दी राइजीङ गोर्खाजले ट्रफी जितेको हो । जी फाइभ माछापुच्छ्रे कपमा सहभागिता जनाउन डार्वीन देखि सीड्नी आएको डार्बीन हर्टसले फाइनलमा आफ्नो मुख्य खेलाडी गुमाएपछि राइजीङ सँंग घुँंडा टेक्नु परेको थियो । 
 
राष्ट्रीय फुटबल टोलीका दुइ हस्ती अनिल ओझा र जगजित श्रेष्ठ सम्मीलित मेलवर्नको यती फुटबल क्लबलाई सेमिफाइनलमा पाखा लगाएको डार्बिनका सुलभ मास्केले खेलको अन्ततिर बिनाकारण रातोकाड खानु परेपछि फाइनल खेल खल्लो हुन पुगेको थियो । सेमिफाइनलमा यतीविरुद्ध एक्लैले तिन गोल गरेका सुलभले फाइनल खेल्न नपाउनुनै हारको मुख्य कारण बनेको थियो । मेलवर्नको युनाइटेड फुटबल क्लब नियमित स्ट्राइकर सुरज श्रेष्ठलाई टोलीमा सम्मीलित गरेर आएको डार्बिनले फाइनलमा सुलभको अभाव झेल्नु परयो । 
 
उच्च मनोवलका साथ उत्रेको राइजिङ गोर्खाजले फाइनलमा मैदानमाथि कब्जा जमाउदै ४–० को फराकिलो जितसहित उपाधि चुमेको थियो । युवा फरवार्ड पारस थापा सहित मैदानमा उत्रेको राइजिङका लागि प्रबल रन्जितकार, आभाष थापाले एक एक गोल गरे भने डेब्यु म्याचमा पारसले दुइ गोल गरेर आफ्नो उपस्थीती मजबुत गराए । सेमफाइनलमा ग्रानभिल राईनोजलई पेनाल्टी सुटमा ४ का विरुद्ध ५ गोल गर्दै राइजिङले फाइनल यात्रा तय गरेको जानकारी दी राइजीङ गोर्खाज क्लबका मुख्य प्रायोजक राईट एण्ड एशोसिएट्सका  बाल चन्द्र भट्टराईले बताए ।
 
प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी डार्बीनका सुलभ मास्के घोषित भए । म्यान अफ दी फाइनलको उपाधि डार्बिनका सुरज श्रेष्ठले हात पारे । टीआरजीका सुमिप श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताको विजेताले दुइ हजार डलर र ट्रफी तथा पदक हात पारेको छ भने दोस्रो स्थान हात पार्ने टोलीले आठ सय डलर प्राप्त गरेको छ । ग्यालेक्सी एजुकेशन, बिज एजुकेशन, नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो । 
 
२० नोभेम्बर आईतबार ग्लेनउडमा अवस्थित खेल मैदानमा प्रतियोगिताका विजेता खेलाडीहरुलाई लेबरकी सांसद जुलाइ फीन र अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन केसी, नेप्लीज अस्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगिताको भेट्रानतर्फ भने माछापुच्छ्रेले मेलवर्नको यती फुटबल क्लबलाई हराउदै उपाधि जितेको छ । सो उमेर समुहको प्रतियोगिताको सर्वाधिक गोलकर्तामा यती मेलवर्नका हरी गुरुङ, उत्कृष्ट गोलरक्षकमा माछापुच्छ्रेका निरज श्रेष्ठ, उत्कृष्ट खेलाडीमा सोही क्लबका प्रविन जोशी घोषित भएको जानकारी पत्रकार हेमन्त काफ्ले ले दिएका छन ।