नवाज कप ग्रानभिल राईनोजलाई


Date:2016-09-19
नेपाली भिजन । सिड्नी अवस्थीत लिडकमको वाईट पार्कमा भएको नवाज कप २०१६ फुटबल प्रतियोगिताको फाईनल खेल खेल्दै ग्रानभिल राईनोज फुटबल क्लबले उपाधी जित्न सफल भएको छ । प्रतिष्पर्धी द राईजिङ्ग गोर्खा फुटबल क्लबलाई पेनाल्टी सुटमा ३ का विरुद्ध ४ गोल गर्दै ग्रानभिल राईनोजले प्रतियोगिता जितेको हो ।
 
खेलको पहिलो हाफमा द राईजिङ्ग गोर्खाले २ गोलको अग्रता लिंदै खेललाई आफ्नो पक्षमा राखेको थियो । दोश्रो हाफ भरी आक्रमक खेल खेल्दै आफ्नो दवाबमा खेललाई राख्न सकेको ग्रानभील राईनोजले खेल सकिन अन्तिम केही मिनेट बाँकी रहँदा गोल गरीे खेललाई बराबरीमा सक्काएको थियो ।
 
निर्र्धारीत समयबाट परिणाम आउन नसकेपछि थप समय खेल खेलाइएको थियो । अतिरिक्त समयबाट पनि परिणाम नआएपछि पेनाल्टी सुट गरिएको थियो । पेनाल्टी सुटमा ग्रानभील राईनोजका गोलकीपरले उत्कृष्ट बचाउ गरेपछि उनकै बचावबाट ग्रानभीललाई विजयी मिलेको थियो । विजयी टिमका गोलकिपर स्यामुल श्रेष्ठ, टिम क्याप्टेन सुपर गुरुङ्ग, टिम मेनेजर तथा खेलाडी दिपराज आचार्य, व्यवस्थापक दिपक थापा लगायत सम्पूर्ण खेलाडीहरुले उत्कृष्ट मिहेनत गरेका कारण नै विजयी भएकोमा ग्रानभील राईनोजका संस्थापक नन्द गुरुङ्गले नेपाली भिजनलाई बताए । यो वर्षका सबै प्रतियोगितामा उपाधि जितेर टिमले ह्याट्रीक गरेकोमा गुरुङ्गले खुशी व्यक्त गरे ।
 
विजयी खेलाडीहरुलाई आयोजक नवाजका अध्यक्ष लगायत संघ संस्थाका प्रतिनिधि मुख्य व्यवस्थापक राजु मानन्धरले सिल्ड, ट्रफी र मेडलबाट सम्मान गरेका थिए । खेल अवधि भरी पानी परेकाले खेल्ने र हेर्नेलाई समेत निक्कै सकस परेको थियो । तर अविल वर्षाका वाबजुद पनि खेलाडिहरुले उत्कृष्ट खेल खेलेकोमा आयोजकले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।