महिला हिंसा आफ्नै पीडा जस्तो लाग्छ


Date:2016-08-27
- जानकी पौडेल, 
उमा कार्की चितवन जिल्लामा मात्र सिमित नभएर नेपालमै परिचित नाम हो । आफ्नै जीवनमा भोगेका दुःख सुखवाट प्रेरितभै नेपाली महिलाहरुको दुःख र मर्का बुझी उनीहरुका हक र हितका लागि आवाज उठाउने एउटा महिला सशक्तिकरणकी प्रखर व्यक्तित्व हुन उनी । कलम चलाई गाउँ, समाज र देशलाइ मात्र नभई अन्तर्रास्ट्रिय नागरिक समाजमा पनि उनिले आफ्नो परिचय दिन सफल भएकी छन् । उनका लेख, रचना र काब्य कृतिहरुमा महिला हिंसाको बिरोध भएको पाइन्छ । नेपाली साहित्य र भाषाको जगेर्ना गर्नमा पनि उनको उत्तिकै भूमिका रहेकाले नेपाल सरकारद्वारा “भानुभक्त स्वर्ण पदक“ तथा त्रिमुर्ती निकेतनले प्रदान गरेको “विश्व नारी नेपाली साहित्य पदक“ बाट सम्मानित भएकी छन् । उमा कार्कीको जीवनगाथा जान्ने वा उनका  सृजना पढने जो कोही पनि उनीवाट प्रेरित नभईरहन सक्दैन । अस्ट्रेलिया भ्रमणमा रहेकी समाजसेवी तथा साहित्यकार उमा कार्कीसंग समाजसेवी तथा नेपाली भिजनकी जानकी पौडेलले लिनुभएको लिखित अन्तर्रवार्ता ।
 
साह्रै सुन्दरी र वयस्क देखिनु हुन्छ । कति बर्ष हुनुभयो भन्न मिल्छ ?
मलाई सुन्दर देख्ने हजुरका आँखालाई लाखौँलाख धन्यवाद । दृष्टी अनुसारको दृश्य देखिने हो । फुलको आँखामा फुलै संसार । म ४ दशक पुग्न लागेँ । अनि मुहार सुन्दर होइन आत्मा सुन्दर हुनुपर्नेमा जोड दिन्छु ।
 
नेपालको कुनठाउँमा बस्तै आउनुभएको छ नि ? व्यवसाय या पेशा के गर्नु हुन्छ ?
मेरो घर चितवनको नारायणगढमा छ । इट्टा वालुवा र सिमेन्टबाट बनेको सानो छाप्रो नै मेरो स्वर्ग झैँ सुन्दर दरबार हो । हाल म कुनै पेशा गर्दिन, छोडेँ । तर आफ्नै व्यवसाय गर्छु ।
 
शैक्षिक योग्यताको बारेमा थपथाप गर्नु हुन्छ कि ? 
म कानुनको विद्यार्थी हुँ । भविष्यमा एक बिषयमा डिग्री पाउने प्रबल लालसा म मा जीवित छ ।
 
एउटी महिला भएको नाताले घरभित्रको जुठो चुल्होले त छोडेन होला । कसरी सन्तुलन राख्न सक्नु भो आफ्नो घरायसी जीवन र जागिरे जीवन ?
पहिला सुरुवाती दिनमा जब म संघर्षमा थिएँ । अध्यन गर्थेँ । एउटी बुहारी घरको सबै गृहकार्य सकेर कलेज पुग्नु पर्ने, सासु ससुरा परिवारको अनेकौं जिम्मेवारी निकै साहसका साथ पूरा गर्दै अध्यन गरेँ । धेरै चुनौतीको सामना गरियो । बुहारी कलेज पढ्ने सासू दैलो पोत्ने भयो भनेर गीत गाउँथे । म कुनै दिनपनि हतोत्साहित भईन । आफ्नो लक्ष्यमा पुग्नु नै एकमात्र ध्यान थियो । अहिले अतीत फर्किएर हेर्दा कहालीलाग्दो हुन्छ । अतालिन्छु । अनेकौं चुनौती सामना गरेरै आफ्नो लक्ष्यमा पुगेकी हुँ ।
 
वैचारिक द्वन्द्घ बारे तपाइँको धारण कस्तो छ ? एउटा कुनै मन भित्र गढेको वैचारिक द्वन्द्घको बिषय र त्यसलाई कसरी प्रतिवाद गर्दै आफ्नो आत्मसम्मान लिन सक्नु भो यसबारे बताइदिनुहोस् न ?
वैचारिक द्वन्द्घ धेरै भए भैरहेको नै छ र आजसम्म पनि म द्वन्द्घ र युद्ध मै छु । विभेदरुपी द्वन्द्घ, जातजातिको नाममा द्वन्द्घ, महिला हिंसा विरुद्ध द्वन्द्घ, समाजमा असमानता बिरुद्ध द्वन्द्घ छुवाछुत बिरुद्ध धेरै छन । जहाँ म हरेक दिन यस्ता बेथिती बिरुद्ध उत्रिन्छु । म मा अदम्य साहस पैदा भएकै हुन्छ । महिलाहरुले पाएका अनेकौं हिँसाका सिकार मध्ये विभेदपुर्ण व्यबहार, मानसिक हिंसा, शारीरिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, सामाजिक हिंसा, प्रथा परम्पराजनिक हिंसा यी र यस्ता बेथिती देखि क्रोधित हुन्छु । अनि अति दुखित पनि हुन्छु ।
 
तपाई एउटा समाजसेवी हुनुहुन्छ भन्ने चर्चा छ । के कस्ता सेवामा संलग्न हुनुहुन्छ ?
मेरो जीवनको महत्त्वपूर्ण पाटो समाजसेवा नै हो । म यस क्षेत्रमा विगत २० बर्ष देखि लागिरहेकी छु । कति काम गरियो भनेर आजको दिनसम्म लेखाजोखा गरिएन । आज हजुरले सोध्नु भयो । कहाँ बाट सुरुगरौँ भन्ने पो भयो । यो गरेँ भन्नू भन्दा चितवनमा अफ्ट्यारो पर्दा जो कोहीको मनमा झट्ट आउने नामको परिचय बनाउन सफल भएँ झैँ लाग्छ । अनि यसैमा गर्व पनि लाग्छ । हिँसामा परेका चेलीबेटीहरुलाई उद्दार गरेर आफ्नो ब्यक्तिगत खर्चमा घरमै राखेकी छु । आर्थिक रुपमा कमजोर भएर हिंसा खेपिरहेका हुन या दाइजो नल्याएको निहुँमा घर निकाला गरेका हुन् या बेचबिखनमा परेका हुन् सबैखाले चेलीहरुको बलियो सहारा बन्न पाएकी छु । धेरैजनालाई पुनर्विवाह गराइयो । कोही सीप सिक्दैछन । कोहि पढ्दै छन । जसको आम्दानी नभएर छोरी चेलीहरुलाई पढाएका छैनन् तिनीहरूको आर्थिक सहयोग गरेरै भएपनि निरन्तरता दिएकी छु । हातमा सीप भएका नारी छन् भने ३ लाख सम्म खर्चेर निशुल्क सिलाइ पसल (टेलरिङ्ग) खोलिदिएकी छु । आफुले गरेको कामको चर्चा गर्न साह्रै मुस्किल हुँदोरहेछ ।
 
के कारणले यस क्षेत्रमा आफूलाई समर्पित गर्ने चाहना भयो त?
महिलाहरू हरेक क्षेत्रमा हिंसा खेप्न बाध्य छन् । ती पिडित महिलाहरुको पक्षमा वकालत गर्दा म भावनात्मक रुपमा उनीहरुको नजिक पुगेँ । उनीहरुको पीडा आफ्नो पीडा भएको महसुस हुन थाल्यो । एकातिर महिलाहरु पिडित हुनु अर्कोतिर उनिहरु आर्थिक रुपमा कमजोर हुनु यी यस्तै कारण हुन । म स्वयम् पनि बाल्यकालमा अफ्ट्यारो अवस्था सामना गरेकी नारी हुँ । सानो उमेरमा अभिभावक गुमाएकी म दिदीको घरमा बसेर संघर्षका साथ हुर्किएकी हुँ । मलाई संघर्ष के हो भन्नेकुरा हदैसम्म थाहा छ । बालअधिकार गुमाएकी नारी सायद म एक ज्वलन्त उदाहरण हुँ । आफ्नो साधारण इच्छा जस्तैः पढ्ने लेख्ने हाँस्ने खेल्ने बोल्ने इच्छा पूरा नभएको कारणले नै होला म कलिला नानीहरु जो अफ्ट्यारोमा छन् तिनीहरुमा आफ्नो बाल्यकाल देख्छु । तिनीहरूलाई केही गरिदिइएर आफ्नो इच्छा पूरा भएको महसुस गर्छु ।
 
तपाईंलाई साहित्यमा रुचि बढ्नुका कारण र प्रेरणाको श्रोत के होला बताइदिनु होस् न । साथै कुन कुन पुरस्कार प्राप्त गर्नु भएको छ ?
हजुर, साहित्यमा रुचि नहुने मानिस सपांग हुनै सक्दैन र जीवनको वास्तविकता नजिक पुग्नै सक्दैन । साहित्य मेरो जिन्दगीको निकै महत्वपूर्ण पाटो हो । मैले पहिल्यै लेखिसकेकी छु । म एउटी जेहेन्दार विद्यार्थी हुँदाहुँदै बचपन अभाव पीडा र कष्टकर बित्यो । मेरा भोगाइहरु म माथि यसरी हावी भए कि मैले ती पीडा भोगाइहरु बाहिर निकाल्न शब्दको प्रयोग गर्न थालेँ । ती शब्दहरु कहिलेदेखि साहित्यमा परिणत भयो पत्तै पाइएन । म सानैदेखि दिदी भिनाजुको साहित्य पढेर हुर्किएँ । श्री नरेन्द्रराज प्रसाईं इन्दिरा प्रसाइँको साहित्यिक सृजनाको छहारीमा म पुर्णरुपमा फक्रीने अवसर पाएँ । उहाँहरु नै मेरो साहित्यको प्रथमतः प्रेरणा हो र दोश्रो मेरा श्रीमान् छोराछोरी हुन । कारण चाहिँ महिला भएकै कारणले गर्दा भोग्नु पर्ने पीडा वेदना हुन । सयौँ संघसंस्थाबाट सम्मानित भएकी छु । मलाई आज सम्म धेरै खुसी दिने सम्मानहरुमा, नेपाल सरकारले प्रदान गरेको भानुभक्त स्वर्ण पदक तथा प्रशंसापत्र, त्रिमुर्ती निकेतनले प्रदान गरेको “विश्व नारी नेपाली साहित्य पदक तथा प्रशस्तिपत्र, नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रालयबाट प्रदान गरेको राष्ट्रिय सम्मान पदक तथा सम्मान पत्र, ३ नेपाल प्रहरीले प्रदान गरेको “सुरक्षित साथ“ सम्मान पत्र, राष्ट्रिय नागरिक सेवा समाज द्वारा प्रत्येक बर्ष ६९/७०/७१/७२/७३ सम्म पाँचौ पटक राष्ट्रिय सम्मानबाट विभुषित, मिडियाको तर्फबाट नारी सशक्तीकरण अभियन्ता नामक सम्मानपत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गरेको सम्मान पत्र, सयौँ संघ संगठनले  प्रदान गरेका सम्मानपत्र हुन ।
 
तपाइँको के कस्ता कृति लेखन वा रचनाहरु प्रकाशित भएका छन् हालसम्म ? भविष्यमा के के योजना छ ।
मेरो कृतिहरुमा धेरै पहिले बाल कोसेली १. “मैना“ २. चंगा प्रकाशित भए भने तेश्रो आँखा पुस्तक प्रकाशित भएको छ । निकट केही दिनभित्र “हिँउको पर्दा“ कविता संग्रह आउँदैछ । अहिले प्रेसमा छ । २ वटा गीति एल्बम बजारमा आए । पहिलो एल्बम “वेदना“ जेम्स म्युजिकले बजार ब्यबस्थापन गरेको थियो । दोेश्रो द्धर्द फोर बाइ फोर यो डोरेमी संगीत पाठशालाले बजार ब्यबस्थापन गरेको थियो । दुबै गीति एल्बममा मेरा शब्दहरु र मेरो श्रीमानको संगीत र स्वर छन् । अरु भन्नू पर्दा म समालोचक पनि भएकी हुँदा नाम चलेका चर्चित लेखकका पुस्तक समिक्षा गरेकी छु । तिनीहरूलाई एकमुष्ट बनाइ प्रकाशित गर्ने धोको छ ।
 
तपाईंको मन पर्ने कृति के हो ? पाठकबाट के अभिलाषा राख्नु हुन्छ ?
पहिला त लेखकका लागि कल्पनाशीलता प्रमुख कुरा हो । मैले साहित्य सृजना गर्दा वा लेख्दा कल्पनाशील भएर अनि यथार्थका धरातलमा पुगेर कोरेकी हुन्छु । कविता पनि सामाजिक परिघटनाहरु नै हुन्छन् । सुन्दा आफ्नै पीडा जस्तो लाग्छ प्रायः पाठकहरुलाई । धेरैको यस्तै प्रतिक्रिया पाएकी छु । पाठक भनेका हाम्रा ऐना हुन । उनीहरुको आँखाबाट लेखक देखिनु पर्छ । मेरो मन पर्ने कृति कविता र समालोचना नै हुन ।
 
राजनीतिमा महिला सहभागिता सम्बन्धि के कस्तो धारणा छ? तपाईं यसबारे महिलालाई कसरी प्रोत्साहन गर्नुहुन्छ? 
महिलाहरुलाई राजनीतिमा मात्र होइन । जनताका हरेक सरोकारका क्षेत्रमा सहभागिता गराउनु पर्छ भन्ने ठान्छु । जसरी राज्यको विभिन्न निकायका निर्वाचनहरुमा ३३ प्रतिशत  अनिवार्य उम्मेदवारी दिन लगाउनु पर्ने प्राब्धान छ । यो पनि सहभागिता गराउने प्रोत्साहन नै हो । अनि अनिवार्यता पनि हो । जनसंख्याकै आधारमा पनि ५१ प्रतिशत महिलाको स्थान छ । विडम्बना त राजनीतिमा महिलाहरुलाई निकै कमजोर स्थानमा चुनाव लड्न टिकट दिइन्छ । यस्तो लाग्छ कोटा पुर्याउन मात्र दिइएको हो । अनि महिलाहरुको गोग्यतामा प्रश्नचिन्ह लगाइन्छ । हरेक स्थानीय निकाय देखि केन्द्रसम्मका निकायहरुमा समान सहभागिता गराएर अघि बढाउनु आजको आवश्यकता हो । त्यो अहिले धेरै हदसम्म पूरा भएको अवस्था छ । देशमा प्रमुख तीन स्थानमा महिलाको पहुँच पुगेको छ । यसमा हामीहरु धेरैहदसम्म सन्तुष्ट छौँ । तर यति भएर महिलाहरूले अधिकार पाए भन्ने होइन । पाएका अधिकारको सही उपयोग हुनु प¥यो । कानुनका किताबमा लेखिदैमा त्यो व्यबहारमा उतारिएन भने काम लाग्दैन । म हरेक दिन महिलाहरुलाई आफ्नो पहिचानको लडाइँ लड्न उत्प्रेरित गर्छु । यो मेरो चेतनशील मन र मेरो आक्रामक ब्याक्तित्वले सिकाउँछ ।
 
अनि हजुरले २०७० मा रजत स्मारिकामा महिला हक र अधिकार संवन्धि लेख्नुभएको एउटा लेख पढ्ने अवसर मिल्यो । अत्यन्त सुचनामुलक र समसामयिक रहेछ । तर त्यसमा तपाईले महिला विरुद्दं हुने हिमं्साका कारणहरु उल्लेख गर्नुभएका मध्ये उपर्यूक्त कानुनको अभाव पनि एक थियो । अब त नयाँ संविधान पनि पारित भैसकेको अवस्थामा त्यसमा के कति सुधार देख्नुहुन्छ?   तपाईको विचारमा अवको दश वर्षमा समाजमा घरेलु हिसांको स्थिति कस्तो रहला त?
– मेरो २०७० सालको रजत स्मारिकामा निस्किएको त्यो लेख सायद धेरै उच्च नै रहेछ भन्नुपर्छ । किन कि त्यो लेखबाट नै मैले महिला सशक्तीकरण अभियन्ताको उपमा र मिडिया हबबाट बेस्ट आर्टिकल अवार्ड पाएकी थिएँ । अब देशमा नयाँ संविधान बनिसकेको छ । कानुनमा माग गरेका थुप्रै मागहरुलाई सम्बोधन भएको छ । अब सुधार आउने कुरा अझै थुप्रै छन । महिलाहरु कै अधिकारको कुरा गर्ने हो भने सबै महिलाहरूको प्रतिनिधित्व हुने गरी सवाल पठाएका थियौँ । माननियहरु अझै पनि कानुनका विबादित बिषयहरुमा जनताको अभिमत लिँदैछन । हामीहरुले सुझाएका सवाल यस प्रकार छन ।
१) संविधान सभा, प्रतिनिधि सभा या कुनैपनि तल्लो निकायबाट होस । सबै निकायहरुमा महिलाहरुको प्रतिनिधित्व एक तिहाई हुनु पर्ने भन्ने छ । त्यो पूरा भएको छ ।
२) राजनीति दल सम्बन्धि ब्यबस्थामा २धारा १६४ को उपधारा ४ मा एउटा प्रस्ट निति ल्याएर एक तिहाई महिला नहुने दललाई दर्ता गर्न नहुने ब्यबस्थाको समेत माग छ ।
३) धारा ८८ को प्रतिनिधि सभा गठन सम्बन्धमा उपधारा १क मा प्रत्यक्ष तर्फको १६५ सिट बाट ३६  सिट महिलाहरुको लागि आरक्षण गर्नु पर्ने ।
४) मौलिक हक र कर्तब्यको ४१ को उपधारा १ मा पोषण सहित खाद्य सुरक्षाको हक सम्बन्धि ब्यवस्था अथवा सुधार हुनुपर्ने जस्ता कुराहरु देखिन्छ ।
साथै
१) कानुनका दृष्टिमा समानताको सुनिश्चितता २) समान संरक्षण प्रदान ३) लिंग को आधारमा कुनैपनि प्रकारको भेदभाव नगर्ने ब्यबस्था ४) महिला दलित जनजाति आदिको लागि बिशेष ब्यवस्था गर्न सक्ने प्राब्धान ५) पैतृक सम्पत्तिमा छोराछोरीलाई समान हक हुने व्यबस्था यी नै कुराहरुमा थप सुधारको आवश्यकता देखेका छौँ ।
 
दाइजो प्रथा, अन्धविश्वास, रुढीबादी, छाउपडी, देउकी, झुमा, सबै प्रकारका हिंसाबाट महिलाहरु हिंसा पीडित छन् । यस्ता व्यवहारबाट पीडितहरुको  रक्षा र सुरक्षाको लागि सरकार अगाडि आउनु पर्छ । त्यस्ता पीडकलाई हदै सम्मको सजाय हुनु जरुरी छ । अबको दस बर्षमा घरेलु हिंसामा कमी त आउला निर्मुल हुँदै हुँदैन । जब सम्म महिलाहरूमा सहने बानी छ तब सम्म पीडित हुन्छन् र हेपिएकै हुन्छन् । त्यसैले सबैभन्दा पहिला महिलाहरु जागरुक  र संगठित हुनु जरुरी छ ।