परिचय: व्यवसायी र व्यवसायको- संजीव पाण्डे


Date:2015-10-17
नेपाली समुदायमा परिचित नाम संजीव पाण्डे मण्डला कन्सल्टेन्सीका सञ्चालक हुन् । माइग्रेशन र शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको मण्डला कन्सल्टेन्सीको हाल काठमाण्डौ र सिड्नीमा कार्यालय छन् । विदेश गएर उच्च शिक्षाको डिग्री लिई दुई वर्ष पछि फर्कने उदेश्यले सन् २००७ को सुरुमा अष्ट्रेलिया आईपुगेका पाण्डे यतै घरजम गरेर बस्न पुगे । सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका पाण्डे उक्त विश्वविद्यालयको स्टुडेन्ट काउन्शिलका प्रेसिडेन्ट समेत रहेका थिए । विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई दिने “डाइरेक्टर्स अवार्ड” पनि आफ्नो ब्याच बाट उनले नै पाएका थिए । नुवाकोट जिल्लाको सुनखानी गाविसमा जन्मिएका उनी पाँच वर्षको उमेर देखि नै काठमाण्डौमा फुपु फुपाजुको परिवारमा हुर्केका हुन् । विद्यालय जीवन देखि नै पढाइ र अन्य अतिरिक्त कृयाकलापमा अब्बल पाण्डेले नेतृत्व गरेको टिम राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा दोश्रो भएको थियो । लगनशिल मेहनति तथा पढाईमा राम्रो भएकाले डाक्टर नै हुनुपर्छ भन्ने दबाब सहित त्रिचन्द्र क्याम्पसबाट आईएस्सी गरेका उनले आफ्नो रुचि त्यसमा नभएकाले अन्य बिषय अध्ययन गरे । पढाईका अतिरिक्त एभरेष्ट बैंकमा अधिकृतमा कार्य गर्दै गरेका पाण्डे समय संगै परिवर्तन भएको सोचले अष्ट्ेरलिया तिर लम्किए । उनी अहिले श्रीमती प्रविणा र छोरीहरू आर्या र आहनाका साथ सिड्नीमा बस्छन् । अष्ट्रेलियामा सफल व्यवसायीका रूपमा स्थापित पाण्डेसँग नेपाली भिजनले गरेको कुराकानीको सारसंक्षेप । 
 
प्रश्न १, मण्डला कन्सल्टेन्सी कसरी सुरु गर्नु भयो ?            
मास्टर्स सकिए पछि मैले “जीई मनी” मा काम सुरु गरेको थिएँ । तर केहि महिनामा नै जागीरे जीवनबाट अघाएँ । आफै केहि गर्नु पर्छ भन्ने सोच पहिले बाट नै थियो । सन् २०१० को जुनबाट मैले मण्डला कन्सल्टेन्सी स्थापना गरी काम सुरु गरेको हुँ । सन् २०११ बाट माइग्रेशन परामर्शको काम सुरु भएको हो । 
 
प्रश्न २, तपाईंहरूले आफ्नो व्यवसायबाट अहिले के कस्ता सेवाहरू प्रदान गरिरहनु भएको छ ?
अहिले हामी सिड्नी र काठमाण्डौमा रहेका हाम्रा कार्यालयबाट शैक्षिक तथा माइग्रेशन सम्बन्धी परामर्श दिने काम गर्दछौ । 
 
प्रश्न ३, व्यवसायलाई बिस्तार गर्ने कुनै योजना छ कि ?
अहिले तत्काल व्यवसाय विस्तार गर्ने कुनै योजना छैन । तर भविष्यमा अन्य कानुनी सेवा पनि प्रदान गर्ने योजना छ ।
 
प्रश्न ४, माइग्रेशन तथा एजुकेशन परामर्शदाताले ध्यान दिनु पर्ने मूख्य कुराहरु के के हुन सक्छन ? छोटकरीमा बताई दिनु हुन्छ कि ? 
अन्य कुनै पनि जिम्मेवार पेशा जस्तै यसमा लागेका पेशाकर्मीहरू पनि “भरोसा योग्य” हुनु पर्दछ । भरोसा योग्य हुनका लागि दुईवटा तत्व चाहिन्छ । राम्रो चरित्र र विषयगत दक्षता । यी दुई वटा मध्ये एउटा भएन भने त्यो पेशाकर्मी माथी ग्राहकहरूले विश्वास गर्दैनन् । यो पेशा आफैमा अत्यन्त जिम्मेवार हुनु पर्ने पेशा हो । एउटा गलत सल्लाहका कारण ग्राहकको भविष्य नै बिग्रिन सक्छ । रातारात धनी बन्ने महत्वकांक्षा भएकाहरूका लागि यो पेशा उपयुक्त होइन । 
 
प्रश्न ५, माइग्रेशन तथा एजुकेशन व्यवसायमा जोखिम र प्रतिस्पर्धा कस्तो छ ?
हाम्रो व्यवसायमा पनि प्रतिस्पर्धा चर्को नै छ । यो राम्रै कुरा हो । तर “अस्वस्थ” प्रतिस्पर्धा भने हुनु हुँदैन । 
 
प्रश्न ६, यहाँको नेपाली समुदायलाई कसरी हेर्नु भएको छ ? 
नेपाली समुदायको प्रगति गौरव योग्य छ । त्यो भन्दा पनि बढी महत्वपूर्ण कुरो के हो भने कसैलाई दु:ख पर्दा एक भएर उभिने हाम्रो संस्कार धेरै राम्रो छ । अबको केही वर्ष भित्रमा नेपाली समुदाय अझ धेरै अगाडि पुग्नेछ र एउटा उदाहरणिय समुदायको रूपमा यो चिनिनेछ भन्ने मलाई लाग्दछ ।
 
प्रश्न ७, फुर्सदको समयमा के गर्न मन पराउनु हुन्छ ?  
फुर्सदको समय म परिवार सँग बिताउन मन पराउँछु । घुमफिर गर्न र साहित्य अध्ययन गर्न पनि मलाई मन पर्छ ।
 
प्रश्न ८, भर्खरै जारी भएको नेपालको संविधानमा गैरआवासीय नेपालीलाई पनि नागरिकता दिने व्यवस्था गरिएको छ । यसलाई तपाईंले कसरी हेर्नु भएको छ ? 
गैरआवासीय नागरिकताको व्यवस्था संविधानमा हुनु स्वागत योग्य कुरा हो । विशेष गरी एनआरएनएका अगुवाहरू र राजनीतिक दलका नेताहरू धन्यवादका पात्र हुन् । नागरिकता पाए सँगै गैरआवासीय नेपालीहरूमा आफ्नो मातृभूमि प्रति अझ धेरै जिम्मेवारी बोध हुनेछ र परोपकारी कार्यका अतिरिक्त लगानी नेपाल भित्र भित्र्याउने काममा एनआरएनहरू अझ धेरै लागि पर्ने छन् भन्नेमा म विश्वस्त छु ।
 
प्रश्न ९, अन्त्यमा, तपाईंको पेशाकै बारेमा एउटा प्रश्न । कतिपय परामर्शदाताको गलत सल्लाहका कारण सेवाग्रहीले दु:ख पाएको भन्ने पनि सुनिन्छ । तपाईं यो बारेमा कत्तिको सचेत हुनुहुन्छ ?
कुनै पनि परामर्शदाताले गलत सल्लाह दुई वटा कारणले दिएको हुन सक्छ । पहिलो, उसलाई विषय वस्तुको ज्ञान नै कम छ । अथवा दोश्रो, गलत सल्लाह दिएर ऊ नाजायज फाइदा उठाउन चहान्छ । यी दुवै गल्ती क्षम्य हुन सक्दैनन् । परामर्शका लागि हरेक दिन धेरै ग्राहकहरू मेरो अफिसमा आउनु हुन्छ । म सल्लाह दिंदा आफूलाई थाहा नभएको कुरामा थाहा भए झैं गरेर बोल्दिन । आफूलाई थाहा नभएका कुराहरुमा अरू अग्रज र सहकर्मीहरू सँग सरसल्लाह पनि गर्ने गर्दछु र, कतिपय अवस्थामा म भन्दा जान्ने अरू कसैलाई “रिफर” गरीदिन्छु । आफ्नो फाइदा भन्दा ग्राहकको हितलाई पहिलो प्राथमिकतामा राखेर सल्लाह सुझाव दिने गर्दछु । तत्काल हुन सक्ने कुनै फाइदाको लोभमा वा नजानेको कुरामा पनि हचुवाको भरमा सल्लाह सुझाव दिएर अरूको भविष्य बर्बाद पार्ने काम कसैले गर्नु हुँदैन । एक जना अग्रजले मलाई दिनु भएको सुझाव म सँधै सम्झन्छु । “कुनै त्यस्तो काम कहिले नगर्नू, जसका कारण तिमीलाई राती निद्रा नपरोस ।” म हरेक रात आनन्दले निदाउन सक्छु र मेरो निद्रा खलबलिने कुनै पनि काम गर्न चाहन्न ।